Banner Nepal
आजदेखि सोह्र श्राद्ध सुरु

काठमाण्डौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (सोमबार)देखि देशभर विधिवत् आरम्भ भएको छ । पशुपतिनाथसहित देशभरका विभिन्न मठमन्दिर तथा नदीघाटमा श्राद्ध विधि सम्पन्न गर्न श्रद्धालुहरूको भीड देखिएको छ ।

हिन्दू परम्पराअनुसार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनमा दिवङ्गत पितृलाई तर्पण, पिण्डदान र सिदादान गरिन्छ । यही कारण यसलाई ‘सोह्र श्राद्ध’ भनिएको हो । धार्मिक विश्वासअनुसार, सोह्र श्राद्ध गर्दा पितृको तृप्ति हुने र वंशज पितृऋणबाट मुक्त हुने मान्यता छ । साथै यस विधिबाट परिवारमा शान्ति, समृद्धि र पितृको आशीर्वाद प्राप्त हुने विश्वास गरिएको छ ।

नेपालमा विशेषगरी पशुपतिनाथ, गोकर्णेश्वरलगायतका नदीघाट र तीर्थस्थलमा श्राद्ध गर्ने परम्परा प्राचीन कालदेखि चलिआएको छ । यस अवसरमा असंख्य भक्तजनले आ–आफ्ना पुर्खाप्रति श्रद्धा व्यक्त गर्दै धार्मिक कर्तव्य निर्वाह गर्ने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update