Banner Nepal
सल्यानको ढोरचौर–फलाटे सडक स्तरोन्नति हुँदै, अवैध संरचना हटाइने

काठमाण्डौ । सल्यानको सिद्धकुमाख गाउँपालिकाले दीर्घकालीन महत्वको ढोरचौर–फलाटे सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने तयारी थालेको छ । सडकको क्षेत्राधिकारभित्र पर्ने अवैध घर, टहरा तथा अन्य संरचना हटाई ८ मिटर चौडाइको सडक निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कंडेलले भदौ १६ गते सूचना जारी गर्दै १५ दिनभित्र स्थानीय बासिन्दाले आफ्नै पहलमा संरचना हटाउन आग्रह गरेका छन् । समयसीमा भित्र संरचना नहटाएमा गाउँपालिकाले स्वयं हटाउने र त्यस प्रक्रियामा लाग्ने खर्च कानुनअनुसार सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ ।

ढोरचौरदेखि फलाटेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेका लागि दुई करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । बुधबारदेखि सडक सर्वे कार्य सुरु भइसकेको गाउँपालिकाले जनाएको छ ।

सडक स्तरोन्नतिपछि यातायात सहज हुने, आर्थिक गतिविधि बढ्ने र स्थानीय विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ । हालसम्म सडक साँघुरो र बिग्रिएको कारण यात्रु तथा गाडी सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । अब फराकिलो र कालोपत्रे सडक बनेपछि पैदलयात्रीदेखि व्यापारीसम्म सबै लाभान्वित हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update