Banner Nepal
कोहलपुरमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, चार जना नियन्त्रणमा

काठमाण्डौ । बाँकेको कोहलपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक संगठित गिरोहलाई नियन्त्रणमा लिएको छ । पछिल्लो समय सार्वजनिक स्थलहरूबाट बढिरहेका चोरीका घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरले विशेष अभियान सञ्चालन गरी चार जनालाई पक्राउ गरेको हो ।

भदौ १३ गते इलाका प्रहरी कार्यालय अगाडिबाटै भे ११ प ९६७८ नम्बरको मोटरसाइकल चोरी भएपछि आलोचना बढेपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो । सो क्रममा कोहलपुर नगरपालिका–११ बाट भारतका ४२ वर्षीय आजाद अन्सारी र नेपालगन्जका ४३ वर्षीय संजिब कुमार यादव पक्राउ परे । अनुसन्धानका क्रममा उनीहरूकै गिरोहका अन्य दुई सदस्य पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्सारी र यादवले चोरी भएको मोटरसाइकल नेपालगन्ज उपमहानगर–८ का ६० वर्षीय सहिद अहमद सिद्दीकीलाई ३ हजार रुपैयाँमा बिक्री गरेको तथ्य फेला परेपछि सिद्दीकीलाई समेत पक्राउ गरिएको हो । उक्त मोटरसाइकल नेपालगन्ज–१८ भुजईगाउँमा समिम अहमदको ग्यारेज नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

३० वर्षीय समिम अहमदलाई समेत नियन्त्रणमा लिएपछि गिरोहका चारै सदस्यमाथि थप अनुसन्धान अघि बढाइएको छ । प्रारम्भिक अनुसन्धानमै उनीहरूले यसअघि पनि अन्य मोटरसाइकल चोरी गरी बिक्री गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update