Banner Nepal
भदौ २२–२३ गते खग्रास चन्द्रग्रहण, नेपालबाट प्रत्यक्ष अवलोकन सम्भव

काठमाण्डौ । आगामी २०८२ साल भदौ २२ र २३ गते लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट प्रत्यक्ष अवलोकन गर्न सकिने खगोलविद्हरूले जनाएका छन् । नेपालसँगै युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देखिने यो ग्रहण अमेरिका महादेशमा भने अवलोकन गर्न सकिने छैन ।

खग्रास अवस्थामा चन्द्रमा रातो देखिने भएकाले यसलाई ‘रक्तिम चन्द्र’ पनि भनिन्छ । बी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुर, काठमाण्डौका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार ग्रहणको समय यसप्रकार छ :

  • विरल छायाँले ढाक्न सुरु : २२ गते राति ९ः१३ बजे

  • खग्रास सुरु : २२ गते राति ११ः१५ बजे

  • ग्रहणको मध्यबिन्दु : २२ गते राति ११ः५६ बजे

  • खग्रास समाप्त : २३ गते बिहान १२ः३७ बजे

  • विरल छायाँ हट्ने : २३ गते बिहान २ः४० बजे

जम्मा ५ घण्टा २७ मिनेट लामो यो खगोलीय दृश्य पूर्णिमाको रातमा मात्र देखिने गर्दछ ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र चन्द्रग्रहण देखिन्छ ।

खगोलविद्हरूका अनुसार चन्द्रग्रहण सहजै खाली आँखाले हेर्न सकिन्छ । वैज्ञानिक तथ्यअनुसार ग्रहणले मानव जीवनमा कुनै नकारात्मक असर नपर्ने प्रमाणित भइसकेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update