Banner Nepal
सामाजिक सञ्जाल सूचीकरणः एक्स (ट्विटर) मन्त्रालयसँग सम्पर्कमा

काठमाण्डौ । सामाजिक सञ्जाललाई सूचीकरणमा ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आह्वान गरेपछि एक्स (पूर्व ट्विटर)ले शुक्रबार मन्त्रालयसँग औपचारिक सम्पर्क गरेको छ। एक्सको सिङ्गापुर कार्यालयबाट मन्त्रालयलाई पठाइएको इमेलमा सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी मागिएको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले आवश्यक विवरणसहित जवाफ पठाइसकेको छ। तर, फेसबुक, म्यासेन्जर, ह्वाट्सएपलगायत अन्य सामाजिक सञ्जालले भने अहिलेसम्म औपचारिक सम्पर्क नगरेको उनले बताए।

हालसम्म टिकटक, भाइबर, विटक, निम्बज, पोपो लाइभ र हाम्रो पात्रो सूचीकृत भइसकेका छन्। त्यस्तै टेलिग्राम र ग्लोबल डाइरीले प्रक्रिया पूरा गरिसकेकाले भदौ २२ गते प्रमाणपत्र पाउने तयारीमा छन्।

यता, नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन १०८ इन्टरनेट प्रदायक संस्था र दुई मोबाइल सेवा प्रदायक—नेपाल टेलिकम र एनसेललाई पत्राचार गरेको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार कार्यान्वयन प्रभावकारी बनाउन सात सदस्यीय प्राविधिक टोली गठन गरिएको छ। टोलीले इन्टरनेट र मोबाइल सेवाप्रदायकसँग निरन्तर समन्वय गर्दै अनुगमन कार्य थालेको छ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update