
काठमाण्डौ । संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन्। समितिमा बिहीबार दर्ता भएको एकल मनोनयनका आधारमा खतिवडालाई निर्विरोध भएको घोषणा गरिएको हो।
भदौ ११ गते समितिको सभापति पद रिक्त भएपछि नयाँ निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। सभामुखबाट पद तथा गोपनीयताको शपथ लिएपछि खतिवडाले कार्यभार सम्हाल्नेछन्। खतिवडाको उम्मेदवारी कांग्रेसका श्यामकुमार घिमिरेले प्रस्ताव गरेका थिए भने नेकपा (एमाले)का महेशकुमार बर्तौलाले समर्थन गरेका थिए।
यसअघि सङ्घीय निजामती विधेयकको प्रतिवेदन लेखनमा गम्भीर त्रुटि भएको ठहरसँगै खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद साउन २७ गते राजीनामा दिएका थिए। राजीनामाको तीन सातापछि उनलाई पुनः संयुक्त समितिको सभापति पदका लागि उम्मेदवार बनाइएको हो। समितिकी पूर्वसभापति ईश्वरीदेवी न्यौपानेलाई भने हाल राज्य व्यवस्था समिति सभापतिको जिम्मेवारी दिइएको छ।