Banner Nepal
एमाले दोस्रो विधान महाधिवेशनः प्रतिवेदनमाथि समूहगत बहस प्रारम्भ

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सातै प्रदेशका प्रतिनिधिलाई कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअनुसार छुट्टाछुट्टै समूहमा विभाजन गरिएको छ। साथै उपत्यका विशेष प्रदेश, जनसङ्गठन, सम्पर्क समन्वय समिति, प्रवास, केन्द्रीय निकाय तथा विभागीय संरचना गरी कुल १० समूह बनाएर छलफल अघि बढाइएको हो।

महाधिवेशनको पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव राखेका थिए। महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन पेश गरेका थिए।

आजको सत्रमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आआफ्ना प्रतिवेदन प्रस्तुत गरे।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारासहित शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा देशभरका २,०२६ प्रतिनिधि तथा ३१५ आयोजक गरी कुल २,३४१ जनाको सहभागिता छ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update