Banner Nepal
पुटिनको चेतावनी: ‘युक्रेनमा आउने पश्चिमी सेनालाई आक्रमण गर्ने’

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सुरक्षाको प्रत्याभूति दिने नाममा तैनाथ गरिने पश्चिमी देशका सेनामाथि आक्रमण गर्ने चेतावनी दिएका छन्। उनले यो भनाइ युरोपेली मुलुकहरूले युक्रेनलाई युद्धपश्चातको सुरक्षा ग्यारेन्टी दिने घोषणा गरेको भोलिपल्ट सार्वजनिक गरेका हुन्।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार २६ देशले स्थल, समुद्र र हवाई सेना समावेश गर्दै युक्रेनलाई दीर्घकालीन सुरक्षा ग्यारेन्टी दिने घोषणा गरेका थिए। त्यसको भोलिपल्ट पुटिनले युक्रेनमा प्रवेश गर्ने कुनै पनि पश्चिमी सेना रूसको “वैधानिक निशाना” हुने चेतावनी दिए।

उनले युक्रेनमाथि आक्रमणको प्रमुख कारण नै नेटोको सम्भावित सदस्यता र त्यहाँ विदेशी सेना स्थायी रुपमा तैनाथ हुन नदिने उद्देश्य भएको दाबी पनि दोहोराए।

शान्ति सम्झौताका लागि युक्रेनले फेरि आक्रमण नहोस भनेर सुरक्षा प्रत्याभूति माग्दै आएको छ। हालसम्म बेलायत र फ्रान्स ३० हजार सैनिक तैनाथ गर्न तयार देखिएका छन् भने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पनि हालैदेखि युरोपेली नेताहरूसँगको छलफलमा युक्रेनलाई अमेरिकी सहयोग दिने विषयमा सकारात्मक देखिएका छन्।

तर, पुटिनले क्राइमिया र डोनबासलगायत कब्जा गरिएका क्षेत्रलाई रूसी भूमि मान्नुपर्ने अडान दोहोर्याएका छन्, जसलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अस्वीकार गरिसकेका छन्। यसबीच पुटिनको चेतावनीले युक्रेन युद्ध अन्त्यका सम्भावित शान्ति वार्तालाई झनै कठिन बनाएको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update