
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल कम्पनीहरूको सूचीकरण सम्बन्धी विषयमा स्पष्टता खोज्दै मेटा र युट्युबलाई पत्र पठाएको छ।
रास्वपाका सहमहामन्त्री विपीन आचार्यको तर्फबाट पठाइएको पत्रबारे प्रवक्ता मनिष झाले जानकारी दिँदै नेपाल सरकार र अन्तर्राष्ट्रिय कम्पनीबीच दर्ता प्रक्रियामा देखिएका चुनौती तथा समाधानका उपायबारे संवाद सुरु गर्ने उद्देश्य रहेको बताए।
मेटालाई पठाइएको पत्रमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई नेपालमा दर्ता गर्ने सरकारी पहल, दर्ता प्रक्रियामा देखिएका कानुनी अवरोध लगायतका विषयमा जानकारी लिन माग गरिएको छ।
यसैबीच, सरकारले नेपालमा सूचीकरण नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। उक्त निर्णय तत्काल फिर्ता लिन रास्वपाले माग गर्दै स्वतन्त्र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ।