
काठमाडौँ । मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्ड (जामुने–पोखरा) मा निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। हालसम्म यस खण्डको भौतिक प्रगति ५७.२३ प्रतिशत र वित्तीय प्रगति ४३.६३ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।
३८.८८ किलोमिटर दूरीको यस भागमध्ये ३६.८ किलोमिटरमा एकतर्फी कालोपत्र सम्पन्न भएको छ। जसमध्ये २६.३८ किलोमिटरमा दुईतर्फी (चार लेन) र १०.४२ किलोमिटरमा एकतर्फी (दुई लेन) कालोपत्र सकिएको प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो।
वि.सं. २०७८ भदौमा सुरु भएको परियोजना पुससम्म सक्ने लक्ष्य राखिएको छ। तर, ठेकदार कम्पनीले समयमै काम नसक्दा दुईपटक म्याद थपिएको छ। हाल चिनियाँ कम्पनी अनहुइ काइयुयान रोड एन्ड ब्रिज कन्स्ट्रक्सनले कामलाई अघि बढाइरहेको छ।
सडकसँगै पुल र कल्भट निर्माण पनि अन्तिम चरणमा पुगेको छ। पश्चिम खण्डका १२ पुलमध्ये ११ पूरा भइसकेका छन् भने कास्कीस्थित सेती नदीमा बन्ने पुल ४७ प्रतिशत प्रगतिसहित निर्माणाधीन छ। साथै १०५ वटा कल्भट निर्माण सम्पन्न भएको छ।
७ अर्ब ४० करोडभन्दा बढीको लागतमा बन्दै गरेको यो सडकले सम्पन्न भएपछि पोखरा–काठमाडौं यात्रालाई सहज र सुरक्षित बनाउने मात्र होइन, गण्डकी प्रदेशको समग्र आर्थिक–सामाजिक विकासमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ।