Banner Nepal
सामाखुसीबाट करोडौँ नगद र सुन बरामद, ७७ वर्षीय वृद्ध राजस्व विभागमा

 

काठमाण्डौ, भदौ १८ । सामाखुसीस्थित घरबाट करोडौँ नगद र सुन बरामद भएपछि पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले थप अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग, हरिहर भवन पठाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मङ्गलबार पक्राउ परेका श्रेष्ठलाई बुधबार विभागमा बुझाइएको हो।

श्रेष्ठलाई मङ्गलबार दिउँसो सामाखुसीको घरबाट चार करोड २६ लाख ४० हजार पाँच सय नगद, ९ किलोभन्दा बढी सुनका गरगहना र तीन किलोभन्दा बढी चाँदीसहित नियन्त्रणमा लिइएको थियो। संयुक्त प्रहरी टोली—काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर महाराजगन्ज र प्रहरी वृत्तको सहभागितामा गरिएको छापामारीबाट उक्त रकम र धनमाल बरामद भएको हो।

श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनका छोरा सनम खड्गीले भाडामा लिएको नयाँबजारस्थित घरमा समेत खानतलासी गरेको थियो। सामाखुसी र नयाँबजार दुबै स्थानबाट बरामद गरिएको नगद, सुन र चाँदी बुधबार प्रहरीले सार्वजनिक गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update