
काठमाण्डौ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले चार विषयमा फरक मत दर्ता गराएको छ। स्थायी समिति सदस्य कर्ण थापाले बिहीबार केन्द्रीय कार्यालयमा दस्ताबेज बुझाउँदै फरक मत औपचारिक रूपमा पेश गरेका हुन्।
एमाले केन्द्रीय कमिटीले हालै पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक्ने निर्णय गरेको थियो। तर यो निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि असहमति जनाएका छन्।
फरक मतका चार बुँदा
१. पार्टी लोकतान्त्रिकरण – अध्यक्षको उमेर हद ७० वर्ष र दुई कार्यकालको सीमा कायम गर्नुपर्ने भण्डारी पक्षको माग छ। अध्यक्ष केपी शर्मा ओलीकै इच्छाअनुसार हटाइएका यी प्रावधानलाई पुनः ल्याउनुपर्ने उनीहरूको अडान छ।
२. भण्डारीलाई सदस्यता दिनुपर्ने – संविधान र कानुनले पूर्वराष्ट्रपतिलाई राजनीति गर्न रोक्दैन् भन्दै, एमालेले भण्डारीलाई पुनः पार्टी सदस्यता दिनुपर्ने माग राखिएको छ।
३. नियुक्तिमा चलखेल बन्द गर्नुपर्ने – राजदूत लगायतका नियुक्ति नेताको तजबिजमा हुने प्रवृत्ति रोक्नुपर्ने भन्दै राज्य व्यवस्था विभागमार्फत कमिटीको सिफारिसमा आधारित प्रणाली पुनः ल्याउन माग गरिएको छ।
४. जनसंगठनमा प्रतिस्पर्धा सुनिश्चित गर्नुपर्ने – संगठनको नेतृत्व माथिबाट तोक्ने अभ्यासले प्रतिस्पर्धा रोकिएको भन्दै, नेतृत्व चयन अधिवेशनमै गर्नुपर्ने भण्डारी पक्षको भनाइ छ।
ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशनमा यी फरक मतहरू औपचारिक रूपमा प्रस्तुत हुने तय भएको छ।