
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न गरी बुधबार राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किएका छन्। उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणालगायत मन्त्रीपरिषद्का सदस्यहरूले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीले उत्तरी चीनको तियानजिनमा आयोजित साङ्घाई सहयोग संगठन (एससिओ) को २५औँ शिखर सम्मेलनमा सहभागी भई नेपालको हित प्रवर्द्धन गर्ने उद्देश्य राखेका थिए। साथै, बेइजिङमा आयोजित दोस्रो विश्वयुद्ध तथा जापानी उपनिवेशविरुद्धको विजयको ८०औँ वार्षिकोत्सवमा सैनिक परेड र स्मृति समारोहमा समेत सहभागिता जनाएका थिए।
भ्रमणका क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरी आपसी सहयोग, व्यापार, लगानी, जलवायु परिवर्तन, मानव संसाधन विकास, रासायनिक मल तथा पेट्रोलियम अन्वेषणलगायत विषयमा छलफल गरेका थिए। नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै उनले नेपालको विकास यात्रामा निरन्तर सहयोग गरिरहेको चीनलाई धन्यवाद दिएका थिए।
ओलीले भारत–चीनबीच लिपुलेकमार्ग हुँदै व्यापार गर्ने समझदारीप्रति आपत्ति जनाउँदै कार्यान्वयन नगर्न चीनलाई आग्रह गरेका थिए। राष्ट्रपति सीले भने “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य पूरा गर्न चीन सदैव सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बेइजिङमा आयोजित सैनिक परेडमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उनसहित २६ देशका राष्ट्र प्रमुख वा सरकार प्रमुखको उपस्थिति थियो। परेडमा चीनले अत्याधुनिक हतियार, विमान र प्रतिरक्षा प्रणाली सार्वजनिक गरेको थियो।
परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार प्रधानमन्त्री ओलीको भ्रमण फलदायी भएको बताइएको छ। एससिओमा नेपालको सक्रिय भूमिका र उच्चस्तरीय भेटवार्ताले नेपालका लागि अन्तर्राष्ट्रिय स्तरमा सहयोग र समर्थन जुटाउने विश्वास व्यक्त गरिएको छ।