Banner Nepal
प्रेसर कुकरमा सिटी लगाउँदा जरिवाना लाग्ने, प्रहरीको चेतावनी

काठमाण्डौ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी लगाउनेलाई जरिवाना गर्ने चेतावनी दिएको छ। प्रहरी कार्यालयले ‘ध्वनि, धुँवा र फोहोर प्रदूषणमुक्त छिमेकी अभियान’ सुरु गर्दै यस्तो आग्रह गरेको हो।

प्रहरीका अनुसार ध्वनि प्रदूषणले गर्भवती, मुटुरोगी, बालबालिका तथा वृद्धवृद्धाको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले अभियानलाई कडाइका साथ लागू गरिएको हो। साथै, यस्तो गतिविधिले सामाजिक, आर्थिक र नैतिक पक्षमा पनि नकारात्मक प्रभाव पार्ने भन्दै घर र छिमेकीलाई सान्त्वना दिने वातावरण बनाउन अपिल गरिएको छ।

प्रहरीले राति शौचालय फ्लस गर्दा ध्वनि कम गर्ने, ठूलो स्वरमा गफ नगर्ने, भान्साका भाँडाकुडा नठोक्ने, फोन कल वा संगीत उपकरणको आवाज नियन्त्रण गर्ने, ढोकाको बेल अनावश्यक रूपमा नबजाउने र बिहान नित्यकर्ममा सचेत रहने सुझावसमेत दिएको छ।

ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई कानुनअनुसार तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने चेतावनी दिँदै, यस्तो गतिविधि देखेमा १०० वा १०३ मा जानकारी दिन प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update