Banner Nepal
ट्रम्पको दाबी : अमेरिकाले भेनेजुयलाका ११ लागुऔषध तस्कर मार्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागूऔषध बोकेको स्पिडबोटमाथि अमेरिकी सेनाले आक्रमण गरी भेनेजुयलाका ११ तस्कर मारिएको दाबी गरेका छन् । मंगलबार पत्रकार सम्मेलनमा संक्षिप्त जानकारी दिएका ट्रम्पले पछि सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत थप विवरण सार्वजनिक गरे ।

उनका अनुसार “आज बिहान मेरो आदेशमा अमेरिकी सैन्य बलले ट्रेन डे अरागुवा समूहका नार्को–आतङ्ककारीहरूलाई निशाना बनाएको” हो । आक्रमण अन्तर्राष्ट्रिय जलक्षेत्रमै भएको र कुनै अमेरिकी सैनिकलाई क्षति नभएको उनले उल्लेख गरे । ट्रम्पले सार्वजनिक गरेको भिडियोमा पानीमा दौडिरहेको स्पिडबोट विस्फोटसँगै नष्ट भएको देखिन्छ ।

‘द न्यूयोर्क टाइम्स’का अनुसार अमेरिकी विशेष अपरेसनमा प्रयोग हुने विमानमार्फत चार इन्जिनको स्पिडबोटमाथि हमला गरिएको हो, तर सो विमान हेलिकप्टर थियो वा ड्रोन भन्ने खुलाइएको छैन ।

यसैबीच ट्रम्पले सात वटा युद्धपोत र आणविक पनडुब्बीसहित चार हजार पाँच सयभन्दा बढी अमेरिकी सैनिकलाई दक्षिणी क्यारेबियनमा पठाइसकेका छन् । यस कदमलाई भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोविरुद्ध सत्ताच्युत अभियानको पूर्वतयारीका रूपमा पनि हेरिएको छ ।

अमेरिकी प्रशासनले भने यसलाई लागुऔषध तस्करहरूमाथि कडा प्रहारका रूपमा व्याख्या गरेको छ । तर, रक्षाविज्ञहरूले यति ठूलो सैन्य तैनाथी केवल तस्करी नियन्त्रणका लागि नभई राजनीतिक दबाब सिर्जना गर्ने रणनीति भएको आशंका व्यक्त गरेका छन् ।

गत महिना अमेरिकाले मदुरोलाई लागुऔषध कार्टेलसँग संलग्न भएको आरोप लगाउँदै उनको टाउकोको मूल्य पाँच करोड डलर तोकेको थियो । अमेरिकी अधिकारीहरूले मदुरोलाई दशकौंदेखि कार्टेल ‘डे लोस सोलेस’ को नेतृत्व गरी लागुऔषध र हिंसा अमेरिकाभित्र्याएको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update