
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सम्झौताप्रति चीनको तटस्थता देखिएको भन्दै गम्भीर आशंका व्यक्त गरेको छ ।
प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले चिनियाँ राष्ट्रपतिले सीमा विवादलाई नेपाल–भारतबीचको आन्तरिक विषय भन्दै पन्छिने शैलीमा प्रतिक्रिया दिएको बताएका छन् । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले हालै चीन भ्रमणका क्रममा लिपुलेकबारे नेपालको प्रष्ट अडान राखेका थिए तर चीनले त्यसमा स्पष्ट समर्थन देखाएन ।
सांसद बडूले यसलाई नेपालको सार्वभौमिकताप्रति अपेक्षित सम्मान नदेखाएको ठहर गर्दै चिनियाँ व्यवहार सकारात्मक मान्न नसकिने बताए । उनले स्मरण गराए कि नेपालले सधैं ‘एक चीन नीतिको’ पक्षमा स्पष्ट समर्थन जनाउँदै आएको भए पनि चीनले नेपालको सीमा र भौगोलिक अखण्डताको विषयमा पन्छिने संकेत दिएको छ ।
यस्तै, चीनको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीसँगको भेटपछि जारी गरेको प्रेस विज्ञप्तिमा लिपुलेक विवादबारे कुनै उल्लेख नगरी बरु ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)’ मा नेपाल सहमत भएको भनेर समेटिएको विषयप्रति पनि सांसद बडूले प्रश्न उठाए । उनले प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले यसबारे चाँडै स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याए ।