
काठमाडौँ, भदौ १८ गते । अध्यागमन विभागले नेपाल भित्रिने विदेशी पर्यटकलाई दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणालीमार्फत निगरानी गर्ने भएको छ । विभागले यसमार्फत विदेशी नागरिकको बसोबास, गतिविधि र सुरक्षासम्बन्धी अभिलेख व्यवस्थित रूपमा राख्ने तयारी गरेको छ ।
महानिर्देशक रामचन्द्र तिवारीका अनुसार प्रणालीले सम्भावित अपराध नियन्त्रण, आपतकालीन उद्धार र पर्यटन प्रवर्धनमा सहयोग पुर्याउनेछ । “विदेशी नागरिकको बसोबास र गतिविधि व्यवस्थित रूपमा अनुगमन भएपछि खोज–उद्धार र सुरक्षा सुनिश्चित गर्न सहज हुनेछ,” उहाँले बताउनुभयो ।
नयाँ प्रणाली पहिलो चरणमा असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटेलमा लागू हुनेछ । दोस्रो चरणमा मङ्सिर १ गतेदेखि सबै तारे होटेल, एयरलाइन, ट्राभल एजेन्सी, मनी एक्स्चेन्ज, गेस्ट हाउस तथा अन्य सार्वजनिक–निजी सेवामा विस्तार गरिनेछ ।
अनलाइन प्रक्रियामार्फत दर्ता नगरी पर्यटकले होटल प्रवेश पाउने छैनन् । यसबाट सरकारसँग विदेशी नागरिक कुन होटेलमा बसेको, कति दिन बस्यो र हाल कहाँ रहेको भन्ने यकिन तथ्याङ्क रहनेछ । विभागले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै निकायलाई अनिवार्य रूपमा प्रणालीमा आबद्ध गराउने तयारी गरेको छ ।