 
                                                                    काठमाण्डौ — उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन्। इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ८५ वर्षकी गवनी सदा, ६० वर्षकी गीता सदा, ३१ वर्षकी सञ्जु सदा, २९ वर्षकी मञ्जु सदा, २९ वर्षकी सरिता सदा, १० वर्षकी सन्ध्या सदा, ११ वर्षकी सन्जा सदा र ५५ वर्षका लल्कु सदा बिरामी परेका हुन्।
जङ्गलबाट ल्याइएको च्याउ खाएपछि अचानक बान्ता र अन्य लक्षण देखिएपछि सबैलाई चौदण्डीगढी आधारभूत नगर अस्पताल बेल्टारमा भर्ना गरिएको हो। वडा अध्यक्ष प्रकाश राउतका अनुसार गवनी, गीता र सरिताको अवस्था गम्भीर भएकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको छ।
बाँकी पाँच जनाको बेल्टारमै उपचार भइरहेको र आर्थिक अवस्था कमजोर भएकाले नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाएको अध्यक्ष राउतले जानकारी दिए।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    