 
                                                                    काठमाण्डौ — राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही र कैलाली कारागारको अनुगमनपछि प्रकाशित प्रतिवेदनमा कैदीबन्दीको अवस्था र कारागार व्यवस्थापनप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
आयोगकी सदस्य डा. लिली थापाको नेतृत्वमा गएको टोलीले रुपन्देही कारागारमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई राखिएको कोठाको अवस्था स्वास्थ्य दृष्टिले अनुपयुक्त रहेको निष्कर्ष निकालेको छ। आयोगका अनुसार झ्याल प्लाइले बन्द भएकाले हावा आवागमन रोकिएको, बाहिर हिँडडुल गर्न नदिइएको, खुला शौचालय भएको र अदालतको आदेश हुँदासमेत स्थानान्तरण नगरेको पाइएको हो।
अनुगमनमा रुपन्देही कारागार क्षमताभन्दा बढी कैदीबन्दीले भरिएको, ज्येष्ठ नागरिक र बिरामीका लागि छुट्टै स्थान नहुने, पर्याप्त पत्रपत्रिका उपलब्ध नभएको, सामाजिक सुरक्षा भत्ताबाट वञ्चित गर्ने, बेलाबे सर्प छिर्ने, आधारभूत सुविधा र बजेटको अभाव देखिएको छ।
कैलाली कारागारमा हिंसात्मक मुठभेडपछि राज्य संयन्त्रले पर्याप्त पहल नगरेको, सुरक्षाकर्मीको संख्या न्यून रहेको, सुरक्षा जाँच कमजोर र स्थानान्तरण प्रक्रिया अपारदर्शी रहेको आयोगले उल्लेख गरेको छ।
आयोगले कारागारलाई सुधार गृहको रूपमा विकास गर्न, प्रशासनिक क्रियाकलाप पारदर्शी बनाउन, सुरक्षा व्यवस्था मजबुत पार्न, कैदीबन्दीप्रति मानवोचित व्यवहार सुनिश्चित गर्न र देशभरका कारागारलाई मानव अधिकारमैत्री बनाउन सरकारलाई निर्देशन दिएको छ।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    