
काठमाण्डौ — ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले काठमाडौं उपत्यकामा बसोबास गर्ने आफ्ना सेवाग्राहीका लागि राजधानीमै तीनदिने विशेष एकीकृत सेवा शिविर सुरु गरेको छ। जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा सञ्चालन भएको यो शिविर साउन २४ देखि २६ गतेसम्म चल्नेछ।
शिविरमा जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत–नापीसम्बन्धी कार्यलगायत वडा कार्यालयमार्फत प्रदान गरिने अन्य सेवा उपलब्ध हुनेछन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीका अनुसार राजधानीमा रहेका सेवाग्राहीलाई सहज सेवा उपभोगका लागि यो पहल गरिएको हो। गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले काठमाडौंमै धेरै सेवाग्राही भएकाले सामान्य सेवाका लागि समेत गाउँसम्म आउजाउ गर्दा समय र खर्च बढ्ने समस्यालाई कम गर्न शिविर आयोजना गरिएको बताए।