Banner Nepal
अगस्ट १५ मा अलास्कामा ट्रम्प–पुटिन भेटवार्ता

काठमाण्डौ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी अगस्ट १५ मा अलास्कामा भेटवार्ता हुने भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत भेटवार्ताको जानकारी दिएका हुन् भने क्रेमलिनले पनि विज्ञप्ति जारी गर्दै उक्त मिति र स्थानको पुष्टि गरेको छ।

यो भेटवार्ता रूस–युक्रेनबीच साढे तीन वर्षदेखि जारी युद्ध अन्त्यतर्फ केन्द्रित हुनेछ। ट्रम्पले दुवै देशबीच जमिनसम्बन्धी केही सम्झौता र युद्धविरामको सम्भावना रहेको दाबी गरेका छन्, तर विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। पुटिनले यसअघि लुहान्स्क, डोनेट्स्क, जेपोरिज्झिया, खेरसोन र क्राइमियामाथि आफ्नो दाबी दोहोर्याए पनि ती क्षेत्रको पूर्ण नियन्त्रण भने पाउन सकेका छैनन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी हुने नहुने विषयमा अझै टुंगो लागेको छैन। ट्रम्पले यसअघि त्रिपक्षीय वार्ताको सम्भावना औंल्याएका थिए। जेलेन्स्कीले पनि पर्याप्त दबाब परे युद्धविराम सम्भव हुने प्रतिक्रिया दिएका छन्।

ट्रम्प हालै युद्ध अन्त्यका लागि रुससँग सम्बन्ध सुधार्ने प्रयासमा सक्रिय देखिएका छन्। तर पुटिन तयार नभएपछि उनले नयाँ १०० प्रतिशतसम्म भन्सार दर र थप प्रतिबन्धको घोषणा गरेका थिए। अमेरिकी र रूसी राष्ट्रपतिबीच २०२१ यता प्रत्यक्ष भेट भएको छैन।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update