
काठमाण्डौ — कालीकोटको रास्कोट नगरपालिका–१ रामपुरस्थित सुन्दर आधारभूत विद्यालयको दुई कोठे भवन पहिरोले पुरेको छ। साउन २४ गते राति परेको अविरल वर्षापछि आएको पहिरोका कारण भवनसँगै खेलमैदान पनि पूर्ण रूपमा लेदोले ढाकिएको छ।
रातिको समयमा घटना भएकाले मानवीय क्षति भने भएको छैन। तर कक्षा १, २ र ३ का विद्यार्थीहरूलाई भवन अभावमा आइतबारदेखि चौरमा राखेर पठन–पाठन गर्नुपर्ने बाध्यता आएको छ। शिक्षक लोकराज न्यौपानेका अनुसार खेलमैदान समेत माटोले ढाकिएकाले खुला स्थानमा कक्षा सञ्चालन गर्नसमेत कठिनाइ भएको छ।
विद्यालयको चारैतिर धान रोप्ने खेत रहेकाले वर्षातमा प्रायः पानी पस्ने समस्या रहँदै आएको र यसपटक भवन निर्माण गर्दा ढिस्का परेकाले पहिरोको जोखिम बढेको शिक्षक न्यौपानेले बताए।
कक्षा ८ सम्म अध्यापन हुँदै आएको यस विद्यालयमा हाल २७३ जना विद्यार्थी अध्ययनरत छन्। पूर्व शिक्षक तथा अभिभावक छत्रबहादुर बमले विद्यालय भौगोलिक रूपमा जोखिमयुक्त स्थानमा रहेको भन्दै जग्गा उपलब्ध गराई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएका छन्।