Banner Nepal
तुर्कमेनिस्तानमा एलएलडिसी सम्मेलन सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाण्डौ — प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर गएराति स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतले स्वागत गरेका थिए। नेपाली सेनाले प्रधानमन्त्रीको सम्मानमा सम्मान गारद अर्पण गरेको थियो।

राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा ओली यही साउन २० देखि २३ गतेसम्म (५–८ अगस्ट) अवाजा सहरमा भएको सम्मेलनमा सहभागी भएका थिए। कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा उनले सम्बोधन गर्ने साथै उच्चस्तरीय गोलमेच बैठक सहअध्यक्षता गरेका थिए।

सम्मेलनमा एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ भूपरिवेष्ठित राष्ट्रको सहभागिता थियो। समुद्रमा प्रत्यक्ष पहुँचको अभाव, पारवहनका जटिलता, पूर्वाधारको कमी र उच्च लागतले यी मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा देखिएको चुनौती समाधानका उपायमा सम्मेलन केन्द्रित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका प्रतिनिधिमण्डल प्रमुख तथा अन्तर्राष्ट्रिय संस्थाका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। सम्मेलनमार्फत रणनीतिक साझेदारी, लगानी वृद्धि र आपसी सहयोगद्वारा भूपरिवेष्ठित राष्ट्रहरूको दिगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रधानमन्त्रीको टोलीमा परराष्ट्र सचिव अमृतबहादुर राई, प्रथम महिला राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मी सहभागी थि

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update