
काठमाण्डौ — उपभोक्ता जागरण अभियान–नेपालको चौथो वार्षिक साधारणसभा भक्तपुरमा सम्पन्न भएको छ। अध्यक्ष कृष्प्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा. हरि दाहाल प्रमुख अतिथि रहेका थिए।
साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै, आगामी आर्थिक वर्ष २०८२/८३ मा ‘जागरूक उपभोक्ता, जिम्मेवार बिक्रेता’ अभियानलाई अझ सक्रिय बनाउने योजना तय गरेको छ।
अध्यक्ष मार्सेलीका अनुसार संस्थाले गत आर्थिक वर्षमा खोटाङ, उदयपुर, लमजुङ, तनहुँ र बिराटनगरका विद्यालयमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरी विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा सरोकारवालालाई सचेत उपभोक्ता र जिम्मेवार बिक्रेता सम्बन्धी प्रशिक्षण प्रदान गरेको थियो।
संस्थाले वडासमिति तहदेखि संसदीय समिति सम्ममा प्रतिनिधित्व गर्दै उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण, विधिसम्मत वस्तुगत नियमन, तथा जीउ–ज्यान, स्वास्थ्य र सम्पत्तिको सुरक्षाका लागि निरन्तर खवरदारी गर्दै आएको जनाएको छ।