Banner Nepal
सिरहा कल्याणपुरका नगरप्रमुखविरुद्ध घुसकाण्डमा मुद्दा

काठमाण्डौ । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको ठहर गर्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको मागसहित आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार साहमाथि कैद सजाय र बिगोअनुसार जरिवानाको माग गरिएको छ। अनुसन्धानका क्रममा सेवाग्राहीसँग घुस लिएको प्रमाणित भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, दफा ३ को उदफा १ अन्तर्गत कसुर ठहर भएको हो।

आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले वडा नम्बर ६ मा सम्पन्न नाला निर्माण कार्यको भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा बिचौलियामार्फत लिएको १ लाख रुपैयाँसहित साहलाई रंगेहात पक्राउ गरेको थियो।

अख्तियारले यस घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update