
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित शीर्ष नेतासँग भ्रातृ संस्थाको अधिवेशनका विषयमा छलफल गरेका छन्। सभापति निवास बुढानीलकण्ठमा भएको बैठकमा मुख्य सचिव कृष्णप्रसाद पौडेल पनि सहभागी थिए।
पौडेलका अनुसार बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले तयार पारेको कार्यादेशमा सहमति जुटाइयो र भ्रातृ संस्थाको अधिवेशन गराउन निर्देशक समितिलाई जिम्मेवारी दिने निर्णय गरियो। यसअघि नै पार्टी केन्द्रीय समितिले निर्देशक समितिको कार्यक्षेत्र (टिओआर) तय गर्ने निर्णय गरेको थियो, जसलाई आज अन्तिम रूप दिइएको हो।
बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादन निर्देशिकाबारे पनि छलफल भई परिमार्जनसहित पारित गरिएको पौडेलले बताए। यी दुई विषय पारित गर्न तीन घण्टा भन्दा बढी समय लागेको उनले जानकारी दिए।
यससँगै बैठकमा रुपन्देही–३ को उपनिर्वाचनबारे सामान्य छलफल पनि भएको थियो।