Banner Nepal
वर्षाले मुलुकका विभिन्न सडक अबरुद्ध

काठमाडौं । वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा जुम्ला–सुर्खेत सडकखण्ड र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।

कालिकोट खाँडाचक्र नगरपालिका–५ बिहानी खोलानजिक जुम्ला सुर्खेत सडकखण्डमा खसेको पहिरोले राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । त्यस्तै, बैतडीको जयपृथ्वी राजमार्ग खोड्पे बझाङ सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।

बिहान ७ बजेतिर बैतडी सिगास गाउँपालिका–९ रमिलापुरस्थित जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे बझाङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

दुबै राजमार्गमा खसेको पहिरो पन्छाउने काम सुरु भएको प्रहरीले जनाएको छ । यसैबीच, पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा एकतर्र्फी यातायात सञ्चालन सुरु भएको छ । पहिरो पन्छाएसँगै सो खण्डमा अहिले एकतर्फी आवागमन भइरहेको हो ।

वर्षा रोकिएसँगै आज बिहानदेखि केही सहज रुपमा एकतर्फी गाडी चल्न थालेको नवलपुर प्रहरीले जनाएको छ । वर्षाका कारण हिलो भएपछि गाडी चिप्लिएर गुड्न नसकी एकतर्फी मात्रै आवागमन गराइएको सडकमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update