
काठमाडौं । तुर्कमेनिस्तानको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुने कार्यसूची छ ।
ओलीले आज जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन विषयक छलफल सत्रलाई सम्बोधन गर्नु हुनेछ । त्यस्तै ओलीले यस्तै भूपरिवेष्ठित विकासशील देशहरूका लागि व्यापार तथा वाणिज्यको सहजताका विषय अर्को सत्रको सहअध्यक्षता गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले त्यहाँ रहदा कजाकस्तान, अजरवैजान, ताजकिस्तानका राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ओली नेतृत्वको टोली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान पुगेको हो ।
सम्मेलनमा भूपरिवेष्टित विकासशील देशहरुका समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासमा भइरहेका समस्या लगायतमा छलफल हुनेछ ।
जारी राष्ट्रसंघीय तेस्रो सम्मेलनमा अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकाका ३२ भूपरिवेष्टित विकासशील देशहरू सम्मेलनमा सहभागी छन् । कार्यक्रम पर्सीसम्म चल्ने छ ।