Banner Nepal
भारतको उत्तराखण्डको धरालीमा बाढीले गाउँ बगायो, चार जनाको मृत्यु , सयौं हराइरहेको आशंका अहिलेसम्मको २० जनाको उद्धार (हेर्नुहोस् भिडीयो)

काठमाडौं । उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा साउन २० गते (अगस्ट ५) दिउँसो १:४५ बजे भीषण बादल फाटेको छ। घटना खीरगंगा आसपास भएको हो। ३४ सेकेन्डभित्रै वर्षाको तीव्र बहावसहित आएको मलबाले पूरै गाउँ बगाएको देखिन्छ।

घटनास्थलका भिडिओहरूमा देखा परेका दृश्यहरू अनुसार, पहाडबाट पानी र माटोको ठूलो बहाव आएको थियो, जसले घर, होटल र पसलहरू ध्वस्त बनायो।

उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्यका अनुसार हालसम्म ४ जनाको मृत्यु भइसकेको छ र ५० जना भन्दा बढी हराइरहेका छन्।

धराली गाउँ गंगोत्री धामदेखि १० किलोमिटर र देहरादूनदेखि २१८ किलोमिटर टाढा पर्दछ। घटनापछि SDRF, NDRF, भारतीय सेना र ITBP सहितको टोली उद्धार कार्यमा खटिएको छ।

पानी र मलबाको तीव्र बहावले गाउँलाई क्षणभरमै मेटाइदियो। हर्षिल क्षेत्रका होटेल र घरहरूमा बाढी पस्दा ठूलो धनजन क्षति भएको छ। बाढीले हर्षिलको हेलिप्याड क्षेत्र पनि डुबानमा परेको छ।

अत्यधिक वर्षाका कारण उद्धार कार्यमा समेत कठिनाइ आइरहेको SDRF कमाण्डेन्टले जानकारी दिएका छन्। धराली भूगर्भीय रूपमा संवेदनशील क्षेत्र भएकाले रेस्क्यु अपरेसन जटिल बनेको बताइएको छ।

मुख्यमन्त्री पुष्कर सिंह धामी र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति समवेदना व्यक्त गर्दै राज्य सरकार राहत तथा उद्धारमा संलग्न रहेको बताएका छन्।

धराली गंगा नदीको किनारमा अवस्थित सुन्दर बस्ती हो जुन चारधाम यात्राको मार्गमा पर्छ। यिनै कारणले यहाँ थुप्रै होटल र होमस्टेहरू निर्माण गरिएका छन्, जसले गर्दा मानव क्षतिको जोखिम झनै बढेको देखिन्छ।

यसैबीच अहिलेसम्म २० जनाको उद्धार गरिएको द भास्करले जनाएको छ । खोत तथा उद्धार कार्य जारी छ । 

 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update