
काठमाण्डौ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गरेको छ, जसमा ६१.१७ प्रतिशत नियमित विद्यार्थी सफल भएका छन्। गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढेको यो सफलता शैक्षिक क्षेत्रका लागि सकारात्मक संकेतको रूपमा लिइएको छ।
नतिजा अनुसार, नियमिततर्फ ३ लाख ९६ हजार ३ सय ४७ परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४ सय ६५ जना सबै विषयमा ग्रेड हासिल गर्दै उत्तीर्ण भएका हुन्। आंशिकतर्फ भने १ लाख १४ हजार ६ सय ४० विद्यार्थीमध्ये ३६.४९ प्रतिशत अर्थात ४१ हजार ८ सय ४० जना उत्तीर्ण भएका छन्।
यस वर्ष ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ५ सय २ पुगेको छ। त्यसैगरी,
- ३.२१–३.६० जीपीए: ५५ हजार ८९६
- २.८१–३.२० जीपीए: ६९ हजार ८१२
- २.०१–२.४० जीपीए: ८ हजार ९६४
- १.६१–२.० जीपीए: २३
त्यसैगरी, बोर्डका अनुसार १ लाख ५३ हजार ८ सय ८२ जना विद्यार्थी ‘ननग्रेड’ भएका छन्, जसको अर्थ तिनीहरूले कुनै न कुनै विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउन नसकेको जनाइन्छ।
परीक्षा वैशाखमा देशभर सञ्चालन गरिएको थियो, जसमा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए। ५ हजार २ सय २ विद्यालयबाट सहभागी विद्यार्थीहरूका लागि १ हजार ५ सय ९१ परीक्षा केन्द्र सञ्चालन गरिएको थियो। काठमाण्डौ जिल्लाबाट मात्र ६८ हजार विद्यार्थीले परीक्षा दिएका थिए।
नेपाल शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन ढिला भएको थियो। उत्तरपुस्तिका परीक्षण, प्रविधिगत व्यवस्थापन र लेटर ग्रेडिङ निर्देशिका २०७८ बमोजिमको मूल्यांकनपछि नतिजा सार्वजनिक गरिएको हो।