
काठमाडौँ, साउन १९ – लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ र ७ हुँदै बग्ने ङादी खोलामा आएको भीषण बाढीले निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा करिब ८० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।
आइतबार दिनभरको भारी वर्षासँगै आएको बाढीले आयोजनाका हेडबक्स, पावरहाउस, पहुँचमार्ग, क्रसर उद्योग लगायतका संरचनामा ठूलो क्षति पुर्याएको छ। साथै मेसिनरी उपकरण, निर्माण सामग्री पनि बगाएको छ। आयोजनामा करिब ७७ प्रतिशत काम सम्पन्न भइसकेको थियो र बाढीले क्षति पुर्याएपछि उत्पादन समय पछि धकेलिने भएको छ।
आयोजना प्रबन्धक विमल ढकालका अनुसार बाढीले हेडबक्समा रहेको चारवटा मिक्सर, तीनवटा एक्साभेटर, तीन हजार पाँच सय बोरा सिमेन्ट, सत्तरी टन डण्डी, डिजेल जेनेरेटर, कम्प्रेसर मेसिन र क्रसर उद्योगमा पूर्ण क्षति पुर्याएको छ। हेडबक्स पुग्ने २० किलोमिटर लामो पहुँचमार्गका १५ स्थानमा पहिरोले क्षति पुर्याएको छ भने पेनस्टक पाइप र भर्टिकल पेनस्टक क्षेत्रमा ठूलो पहिरो गएको छ।
पावरहाउस क्षेत्रमा स्टोर गरिएको सात हजार बोरा सिमेन्ट र एक सय पचास टन डण्डी पनि बगाएको ढकालले बताए। यसैगरी पावरहाउसबाट टेमरक मेसिन, तीनवटा डिजेल जेनेरेटर, दुईवटा कम्प्रेसर मेसिन र तीनवटा स्टोर भवन पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। दुईवटा बलेरो जीप, एउटा एक्साभेटर र एउटा ट्रिपर पनि बाढीले बगाएको छ। बाढीले पैदल यातायातको लागि बनाइएको पुल र वर्कशप पनि बगाएको छ।
ढकालले भने, “सबै गरी करिब ८० करोड बराबरको क्षति भएको अनुमान छ। बाढीपहिरोले आयोजनाको निर्माण कार्य पूर्ण रूपमा ठप्प भएको छ।”
उक्त आयोजना हाई हिमालय र धवलागिरि कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले संयुक्तरूपमा निर्माण गर्दैछन्। आयोजनाको कुल लागत ७ अर्ब रुपैयाँ अनुमान गरिएको छ। एनएमबी बैंकको नेतृत्वमा ६ वित्तीय संस्थाले ५ अर्ब २५ करोड रुपैयाँ (७५ प्रतिशत) ऋण लगानी गरेको छ भने १ अर्ब ७५ करोड रुपैयाँ (२५ प्रतिशत) स्वपुँजी लगानी रहेको छ।
आयोजनाबाट वार्षिक २३५.७६ गिगावाटघण्टा (२३ करोड ५७ लाख ६० हजार युनिट) विद्युत उत्पादन हुनेछ। उत्पादन गरिएको विद्युत आयोजनास्थलदेखि ११ किलोमिटर टाढा रहेको १३२ केभी टारीकुना खुदी सबस्टेसनमा जोडिनेछ। सबस्टेसनसम्मको प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्ने जनाएको छ।