
काठमाडौँ— लगातार तीन दिनसम्म ओरालो लागेको सेयर बजार आज सोमबार सम्हालिएको छ। नेप्से परिसूचक आज ८.६२ अंकले बढेर २८६७ अंकमा पुगेको हो।
गत मंगलबार बजार ३००२ अंकमा पुगेपछि तीन दिनमा करिब १४४ अंक घटेर आइतबार २८५८ मा झरेको थियो। आज भने बजार केही सुधार भएको देखिएको छ।
कारोबारको क्रममा बजारमा उतारचढाव देखियो। दिउँसो १:१२ बजे बजार २८३३ अंकसम्म झरेको थियो भने २:३४ बजे २८८९ अंकसम्म पुग्यो।
बजार सम्हालिए पनि कारोबार रकम घटेको छ। आइतबार १३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो भने आज १० अर्ब ८२ करोडमा झर्यो।
आज १४० कम्पनीको शेयरमूल्य बढ्दा ११० कम्पनीको घट्यो।
बैंकिङ, जीवन बीमा, माइक्रोफाइनान्स र हाइड्रोपावर समूहको सूचक केही बढेको छ। तर फाइनान्स, निर्जीवन बीमा, उत्पादन, र होटल समूह भने ओरालो लागे।
सबैभन्दा धेरै मूल्य बढ्नेमा सिक्लेस हाइड्रोपावर (५.७३%), स्वेतगंगा (५.१२%), विन्ध्यबासिनी (४.७२%), र माछापुच्छ्रे बैंक (४.५१%) परे।
अघिल्लो दिन १० प्रतिशतले बढेको ट्रेड टावरको मूल्य आज फेरि १० प्रतिशतले घट्यो। त्यसैगरी थ्रीस्टार हाइड्रोपावर, नेपाल फाइनान्स, र सप्तकोशी विकास बैंकको पनि शेयर घटेको छ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा रहेका छन्।
बजारमा सुधार देखिए पनि लगानीकर्ता अझै सतर्क देखिन्छन्।