
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा छिट्टै प्रकाशित गर्ने तयारी पूरा गरेको छ। बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार आज (आइतबार) साँझ ५ बजे बोलाइएको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय लिन सक्नेछ। यदि आज नतिजा प्रकाशित भएन भने, भोलि मंगलबारभित्र नतिजा सार्वजनिक हुने उनले जानकारी दिए।
यसअघि पनि आइतबार बसेको बैठकमा बोर्ड सदस्यहरुलाई नतिजा प्रकाशनसम्बन्धी ब्रिफिङ गरिएको थियो।
यस वर्षको परीक्षामा देशभरबाट ५ लाख ११ हजार विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार नियमित तथा १ लाख १५ हजार आंशिक परीक्षार्थी छन्। परीक्षा ५ हजार २ सय २ विद्यालयका विद्यार्थीले दिएका थिए भने १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएका थिए। काठमाडौँमा मात्र ६८ हजार विद्यार्थीले परीक्षा दिएका थिए र त्यहाँ सबैभन्दा धेरै १६२ केन्द्र स्थापना भएका थिए।
शिक्षक महासंघको आन्दोलनका कारण वैशाख ११ गते सुरु हुने परीक्षा १० दिनपछि सरेर जेठ २ गते सम्पन्न भएको थियो। त्यसपछि उत्तरपुस्तिका परीक्षण लगायतका कार्य अघि बढाइएको थियो।
लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार, कुनै पनि विषयमा न्यूनतम ३५ प्रतिशत सैद्धान्तिक अंक नल्याएमा नतिजा ननग्रेडिङ (NG) हुने व्यवस्था छ। गत वर्ष कक्षा १२ मा ५२ प्रतिशत विद्यार्थी मात्र ग्रेडिङसहित उत्तीर्ण भएका थिए।