
काठमाडौँ — नेकपा एमाले गण्डकी प्रदेश कमिटीले बहुचर्चित ‘लिची बगैंचा’ घुस प्रकरणमा मुछिएका सुजन लामालाई पार्टीबाट निलम्बन गरेको छ। शनिबार र आइतबार बसेको प्रदेश कमिटी बैठकले लामालाई स्पष्टिकरण चित्तबुझ्दो नलागेपछि अनुशासनको कारबाहीस्वरूप निलम्बन गरेको हो।
प्रदेश कमिटी सचिव धनन्जय दवाडीका अनुसार सुजन लामा पार्टीको सल्लाहकार परिषद्का सदस्य थिए। उनको तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग भएको बार्गेनिङ अडिओ सार्वजनिक भएपछि प्रकरणले राजनीतिक तहमा ठूलो असर पारेको थियो। उक्त अडिओ सार्वजनिक भएपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए।
"उहाँले सफाइ नपाउँदासम्मका लागि निलम्बन गरिएको हो," दवाडीले बताए। उनका अनुसार सोही प्रकरणमा संलग्न प्रदेश विभाग सदस्य के गिरीलाई पनि निलम्बन गरिएको छ।
यसअघि दुवैलाई प्रदेश कमिटीले स्पष्टिकरण मागेको थियो। तर जवाफ सन्तोषजनक नदेखिएपछि कारबाही अघि बढाइएको हो। घुस लेनदेनका विषयमा अडिओ सार्वजनिक भएपछि यो घटनाले एमाले भित्रै पनि ठूलो तरंग ल्याएको थियो।