Banner Nepal
तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना

काठमाडौँ — तनहुँको आँबुखैरेनीस्थित ऐना पहरामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ५ जना घाइते भएका छन्। गोरखाबाट नारायणगढतर्फ गइरहेको ग२ख १०७७ नम्बरको बस सडकमै रोकेर राखिएको अवस्थामा अचानक मर्स्याङ्दी नदीको किनारमा खसेको हो।

तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार दुर्घटनामा परेका घाइतेहरूमा गोरखाको शहीद लखन गाउँपालिका–६ की ४० वर्षीया सुनु थापा, ४३ वर्षीया सिता थापा, २८ वर्षीया मिना थापा, गोरखा नगरपालिका–९ का ५४ वर्षीय सुनबहादुर गुरुङ, र आँबुखैरेनी गाउँपालिका–१ की ७ वर्षीया खुशी रामदाम रहेका छन्।

प्रहरीले दिएको जानकारीअनुसार सुनु थापाको अवस्था गम्भीर छ। उनलाई प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज रिफर गरिएको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा, बसका चालकले साइडमा गाडी रोकेर यात्रुहरूलाई दृश्य हेर्न दिने क्रममा सहचालकले "ह्यान्ड ब्रेक" नलगाएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ। केही यात्रु गाडीबाट ओर्लेर फोटो खिचिरहेका थिए भने केही बसभित्रै रहेका थिए।

बस अगाडिको भाग मर्स्याङ्दी नदी किनारतिर झुकेको अवस्थामा फेला परेको र थप यात्रुहरू बसभित्र अड्किएको हुन सक्ने भन्दै उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ।

यसअघि २०७८ सालको ७ भदौमा पनि ऐना पहराबाट भारतीय तीर्थयात्री सवार बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको ज्यान गएको घटना स्मरणीय छ। हालको दुर्घटनाले फेरि सो स्थानको जोखिमप्रति चिन्ता बढाएको छ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update