काठमाडौँ — कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई नयाँ ढंगले छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई कडा निर्देशन दिएका छन्। आइतबार सीआईबी कार्यालय निरीक्षणको क्रममा गृहमन्त्री लेखकले यो बहुचर्चित घटनामा गहिरो अनुसन्धान गरी दोषी पहिचान गर्न र कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन्।
उनले भने, "निर्मला पन्तलगायत ब्युरोले हेरेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु। नेपाल प्रहरीभित्र पनि सीआईबीप्रति जनविश्वास बढेको छ, त्यसलाई अझ बलियो बनाउँदै काम गर्नु आवश्यक छ।"
गृहमन्त्री लेखकले सीमित स्रोतसाधनबीच सीआईबीको प्रदर्शनप्रति सन्तोष व्यक्त गर्दै मन्त्रालयबाट आवश्यक प्रविधि, जनशक्ति र स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। पछिल्लो समय मुलुकमा बढेका वित्तीय अपराध नियन्त्रणका लागि उनले छुट्टै वित्तीय अपराध अनुसन्धान महाशाखा स्थापना गरिएको जानकारी पनि दिए।
उनले प्रहरी चौकीहरूको माग देशभरबाट आइरहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा प्रहरीलाई सुविधा सम्पन्न बनाउन पहिलेको तुलनामा बढी बजेट विनियोजन गरिएको जानकारी गराए। सीआईबीको भूमिकालाई विशेष महत्व दिँदै उनले संगठनलाई अझ प्रभावकारी बनाउन प्रविधिको विकास र जनशक्ति विस्तारमा ध्यान केन्द्रित गरिने बताए।
सो अवसरमा सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले ब्युरोको हालसम्मको काम, सफलता र चुनौतिका विषयमा प्रस्तुति दिए। उनले निर्मला पन्त प्रकरणसहित अन्य महत्त्वपूर्ण घटनाहरूमा अनुसन्धान जारी रहेको जानकारी गराए।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ् लगायत ब्युरोका अन्य अधिकारीहरूको उपस्थिति थियो।