
काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने भटौली पक्की पुल शनिबारको अविरल वर्षासँगै आएको बाढीले कटानको उच्च जोखिममा परेको छ। पिलरमा खोलाको बाढी सिधै ठोक्किँदा पुलको संरचना कमजोर बन्दै गएको छ।
स्थानीय केदारप्रसाद ढुंगेलका अनुसार केही दिनअघि सामान्य असर पुगेको पिलर शनिबारको बाढीले अत्यधिक प्रभावित बनाएको छ। “पकरबासतर्फको पिलर अहिले अत्यन्तै जोखिममा छ, टेवा वालसमेत बगिसकेको छ। ठूला सवारी चलाउने अवस्था छैन,” उनले भने।
खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार खोलाको बहाव पिलरमै ठोक्किँदा संरचना थप कमजोर भएको छ। अहिले पुलमा साना सवारी मात्र सञ्चालनमा छन्।
गत वर्ष असोजमा खुर्कोटको पुल बगाएपछि सो क्षेत्रको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको यो पुल हाल १५ टनभन्दा बढी तौलका सवारीका लागि प्रमुख मार्ग बनेको हो। बेलिब्रिज साना गाडीका लागि मात्र उपयोगी भएकाले अहिले सम्पूर्ण मालवाहक गाडी यही भटौली पुलबाट सञ्चालन भइरहेका छन्।
एमाले बागमती प्रदेश कमिटी अध्यक्ष तथा खाँडादेवीका स्थायी बासिन्दा कैलाशप्रसाद ढुंगेलले पुलमा देखिएको क्षतिलाई गम्भीरतापूर्वक लिइ संरक्षण तथा मर्मतमा तत्काल कदम चाल्नुपर्ने बताए। “यो पुल रामेछाप सदरमुकाम मन्थलीदेखि दोरम्बा, शैलुङ र सुनापति हुँदै काठमाडौं पुग्ने वैकल्पिक मार्गमा पर्ने भएकाले यसको सुरक्षा अत्यावश्यक छ,” उनले भने।
स्विस सरकारको सहयोगमा सञ्चालित ‘स्थानीय सडक पुल कार्यक्रम (LRBP)’ अन्तर्गत स्वच्छन्द सिर्जना जेभीले करिब ४ करोड रुपैयाँ लागतमा २०७१/०७२ मा यो पक्की पुल निर्माण गरेको थियो। स्थानीय तहमा वैकल्पिक यातायात सञ्जालको मेरुदण्ड मानिएको यो पुल थप क्षतिग्रस्त भएमा काठमाडौंसहितका आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने स्थानीयको चिन्ता छ।
गत वर्षको असोजमा खुर्कोटको पुल बगाउँदा रामेछाप र दोलखा जिल्लाबाट काठमाडौं आउजाने सम्पूर्ण यातायात यही पुलमार्गबाट सञ्चालित भएका थिए। अहिले पुनः त्यही पुल जोखिममा परेपछि वैकल्पिक योजना र तत्कालीन सुरक्षाका उपाय अपनाउन स्थानीयले जोड दिएका छन्।