
काठमाडौँ— लगातारको खडेरीपछि मधेस प्रदेशमा भएको वर्षाले स्थानीय बासिन्दालाई ठूलो राहत दिएको छ। पछिल्लो २४ घण्टामा मधेसका थुप्रै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ।
धनुषाको तुल्सीमा ६३.८ मिलिमिटर, हर्दिनाथमा ५१ मिलिमिटर, रौतहटको गौरमा ४४.६ मिलिमिटर र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेसका अन्य स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ।
मनसुनी वायुले देशभर प्रभाव जमाएको महाशाखाको भनाइ छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै रहेकोले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा पनि वर्षा भइरहेको छ।
लगातारको खडेरीले धान रोपाइँमा गम्भीर असर पारेको मधेसमा वर्षाले केही राहत त दिएको छ, तर मौसमविद्हरूले अझै थप वर्षा आवश्यक रहेको बताएका छन्। स्थानीय किसानहरू वर्षाले बिउ छर्ने र रोपाइँ पुनः थाल्ने आशामा छन्।