काठमाण्डौ । बागलुङ जिल्लामा खानेपानीका मुहानहरू प्रदूषित बन्दै गएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाभरिका ३४१ खानेपानी मुहान परीक्षण गर्दा १२५ स्थानमा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको जनाएको छ।
सबैभन्दा धेरै जैमिनी नगरपालिकामा कोलिफर्म भेटिएको छ। १०६ मुहान परीक्षण गर्दा ४२ स्थानमा जीवाणु फेला परेको ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए। उनका अनुसार गलकोट नगरपालिकाका ९१ मुहानमध्ये ४० मा, बागलुङ नगरपालिकाका २४ मध्ये ४ मा, काठेखोलाका ४७ मध्ये २७ मा र बडिगाड गाउँपालिकाका ६८ मध्ये १० मुहानमा कोलिफर्म देखिएको छ।
ढोरपाटन नगरपालिकाका पाँच मुहानमा परीक्षण गर्दा सबैमा पानी सफा देखिएको जनाइएको छ। यद्यपि निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने परीक्षण नै हुन सकेको छैन।
पछिल्ला वर्षहरूमा संक्रमणको खतरा बढ्दै गएको संकेत गर्दै आचार्यले भने, “अघिल्लो वर्ष १०३ मुहानमा कोलिफर्म देखिएको थियो, यस वर्ष १२५ पुगेको छ।” उनका अनुसार अझ धेरै ठाउँमा परीक्षणको माग बढ्दो छ र परीक्षणको दायरा थप विस्तार गरिँदैछ।
धवलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले कोलिफर्म मिसिएको पानी पिउँदा झाडा–पखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बी, पिसाब संक्रमणजस्ता गम्भीर रोग लाग्न सक्ने बताए। उनले यस्तो पानी उमालेर मात्र प्रयोग गर्न सुझाव दिएका छन्।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सरसफाइ अभियानलाई तीव्र बनाइएको जानकारी दिए। “कोलिफर्म देखिएका मुहानहरू व्यवस्थित गर्दै छौँ,” उपप्रमुख शर्माले भने, “जनचेतना अभिवृद्धिसँगै वास प्लान (WASH Plan) लागू गरेर शुद्ध पानीको पहुँच बढाउने प्रयास जारी छ।”
स्वास्थ्य जोखिम बढ्दै गएपछि स्थानीय तहले मुहान सरसफाइ र पानी शुद्धिकरणमा ध्यान दिनुपर्ने आवश्यकतालाई चिकित्सक र जनस्वास्थ्यविद्हरूले औँल्याएका छन्।