Banner Nepal
सुकुटे रिसोर्टको जग्गा विवादपछि प्रमुख जिल्ला अधिकारी थापाको सरुवा

काठमाडौँ — सुकुटे रिसोर्टले व्यक्तिगत जग्गा अतिक्रमण गरेको उजुरी सार्वजनिक भएपछि जिल्ला प्रशासनमा सक्रिय देखिएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) किरण थापाको सरुवा गरिएको छ। सार्वजनिक तथा निजी सम्पत्तिको उपयोगबारे उठेका प्रश्नसँगै उनको सरुवा हुनु राजनीतिक हस्तक्षेपको आशंका गरिएको छ।

रिसोर्ट सञ्चालकले निजी नाममा रहेको जग्गाको आधारमा आसपासको सार्वजनिक जमिनमा संरचना बनाएको विषयमा अनुसन्धानमा सक्रिय प्रजिअ थापालाई, सेवा अवकाशको केही महिना मात्र बाँकी रहँदा, अचानक स्थानान्तरण गरिनु प्रश्न उठ्ने विषय बनेको छ।

हाल माओवादी पार्टीसँग निकट भनिएका सञ्चालक महेन्द्र थापाले सत्तारुढ दलका सांसद माधव सापकोटाको सहयोगमा प्रजिअविरुद्ध आरोपहरू लगाउँदै आएका थिए। सापकोटाले गृहमन्त्री रमेश लेखकको पक्षमा अघिल्लो भिजिट भिसा प्रकरणमा समर्थन जनाएको र त्यसको सट्टा प्रजिअ थापाको सरुवा हुनुपर्ने माग राखेको स्रोतको दाबी छ।

यसअघि पनि माओवादी निकट भूपेन्द्र थापा प्रजिअ हुँदा पीडितहरूमाथि दुर्व्यवहार भएको भन्दै असन्तुष्टि जनाइएको थियो।

०५४ सालदेखि सुकुटे रिसोर्टले प्रवीण श्रेष्ठ र उनका पिता नाममा रहेको जग्गा मौखिक सहमतिमा भाडामा लिएर प्रयोग गर्दै आएको बताइन्छ। भाडा अवधिपछि पनि रिसोर्टले जग्गा नछोडी आफ्नो स्वामित्वको जस्तो व्यवहार गर्न थालेको पीडित पक्षको भनाइ छ।

स्थानीय प्रशासन, नगरपालिका र पर्यटन व्यवसायी संघमा पटकपटक उजुरी परेपनि प्रभावकारी सुनुवाइ नभएको पीडितको गुनासो छ। चौतारा नगरपालिकाको न्यायिक समितिमा समेत मुद्दा पुगेको भए पनि नगर प्रमुख समेत रहेका माओवादी नेता कृष्णप्रसाद सापकोटाले चासो नदेखाएको आरोप छ।

यसबीच, रिसोर्ट सञ्चालकले केही दिनअघि दर्जनभन्दा बढी पत्रकारलाई आवासीय सुविधा सहितको सत्कार गरेको घटनालाई पनि प्रभावित प्रयासको रूपमा हेरिएको छ।

यता, प्रजिअ थापाले रिसोर्टको अतिक्रमण गरिएको जग्गा फिर्ता गर्नुपर्ने विषयमा चासो देखाएका थिए। तर, उनको सरुवालाई लिएर प्रशासनिक निर्णयभन्दा बढी राजनीतिक दबाबका कारण भएको भन्दै शंका व्यक्त गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update