
काठमाडौँ— करिब ६ करोड रुपैयाँ अपचलन गरेर फरार रहेका मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।
रुपन्देहीको भैरहवामा रहेको सहकारीबाट २०७८ सालमा करिब ५ करोड ९० लाख रुपैयाँ हिनामिना गरेको अभियोग लागेपछि केसी फरार रहेका थिए। सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथमा रहेको सो सहकारीका अध्यक्ष ३४ वर्षीय केसी दोलखाको मेलुङ गाउँपालिका–६ निवासी हुन्।
रुपन्देही जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेश सापकोटाका अनुसार केसीले शेयरधनी र बचतकर्ताको रकम अपचलन गरी फरार भएपछि सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो। अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले लामो समयदेखि खोजी गर्दै आएकोमा साउन १४ गते भक्तपुरको मध्यपुर–ठिमी नगरपालिका–३, गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको हो।
प्रहरी वृत्त ठिमीको सहयोगमा पक्राउ परेका केसीलाई रुपन्देही ल्याएर जिल्ला अदालतमा पेश गरिएको र म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी सापकोटाले जानकारी दिए।
उक्त सहकारी हाल बन्द अवस्थामा रहेको बताइएको छ।