
काठमाडौं — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । बुधबार प्रदेशसभा सचिवालय परिसरमा भएको दलको निर्वाचनमा उनले वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई पराजित गरेका हुन् ।
बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मत मात्रै पाए । एक मत बदर भएको थियो ।
अहिलेसम्म मुख्यमन्त्री रहेका लामाले मंगलबार अविश्वास प्रस्तावमा १५ मात्र मतको समर्थन पाएपछि दल नेताको हैसियत गुमाएका थिए । अविश्वास प्रस्तावको पक्षमा २२ मत परेको थियो ।
दलको नेतृत्व परिवर्तन गर्न बानियाँ पक्षधर २१ सांसदले ९ साउनमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावपछि लामाको नेतृत्वमा रहेका पाँच जना मन्त्रीले राजीनामा दिँदै बानियाँको पक्षमा उभिएका थिए ।
यो निर्वाचन बानियाँ र लामाबीच दोहोरो प्रतिस्पर्धाको दोस्रो अध्याय थियो । दुवै जना कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन् ।
यसअघि १३ पुस २०७९ मा भएको संसदीय दलको निर्वाचनमा बानियाँ ५ मतले पराजित भएका थिए । त्यसबेला लामाले २१ र बानियाँले १६ मत पाएका थिए । तर साढे दुई वर्षभित्रै समीकरण उल्टियो, बानियाँले जित हासिल गरे ।
यस जितपछि कांग्रेसको बागमती प्रदेश संसदीय दल नेतृत्व नयाँ मोडमा प्रवेश गरेको छ । अब नयाँ दल नेताको नेतृत्वमा सरकार पुनर्गठन र मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।