Banner Nepal
युवाको चिहान बन्दै विदेश,  नेपाल फर्किए १,४०१ शव

काठमाडौं — पछिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका १,४०१ जना नेपालीको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार ती शवहरू मृतकको देश फर्काउने प्रक्रियामार्फत परिवारलाई बुझाइएको हो ।

सबैभन्दा धेरै मृत्यु २६ देखि ३० वर्ष उमेर समूहका युवाहरूको भएको छ । यस समूहका २३३ जना नेपालीको शव फर्काइएको छ, जुन देशको सबैभन्दा उत्पादनशील उमेर समूह हो ।

अन्य उमेर समूह अनुसार मृतक संख्याः

  • २० वर्षभन्दा कम उमेरका – २९ जना
  • २१–२५ वर्ष – १७२ जना
  • ३१–३५ वर्ष – २२६ जना
  • ३६–४० वर्ष – २२५ जना
  • ४१–४५ वर्ष – २१५ जना
  • ४६–५० वर्ष – ११७ जना
  • ५१–५५ वर्ष – ७१ जना
  • ५६–६० वर्ष – २४ जना
  • ६१–६५ वर्ष – १२ जना
  • ६६–७० वर्ष – १२ जना
  • ७० वर्षभन्दा माथि – ६५ जना

यी तथ्यांकले देखाउँछ कि मुलुकको सबभन्दा ऊर्जावान जनशक्तिले विदेशमा रोजगारीको क्रममा ज्यान गुमाइरहेका छन् ।

यस अवधिमा वैदेशिक रोजगार विभागले मात्र ४८१ शव नेपाल झिकाएको थियो भने १,०८६ शवलाई मृतकका घरसम्म पुर्‍याइएको थियो ।

सरकारले एक वर्षमा मृत्यु भएका १,५१७ कामदारका परिवारलाई करिब १ अर्ब २ करोड ३४ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको जनाएको छ । हाल, वैदेशिक रोजगारमा ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले १० लाख रुपैयाँको राहत दिने व्यवस्था छ ।

विदेशमा रोजगारी खोज्दा नेपाली युवाको ज्यान गुमाउनु पर्ने अवस्था अझै गम्भीर सामाजिक र नीतिगत प्रश्नका रूपमा खडा भएको देखिन्छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update