
काठमाण्डौ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अति कम विकसित मुलुक (LDC) बाट विकासशील राष्ट्रतर्फको यात्रामा महत्वपूर्ण प्रगति गरेको दाबी गर्नुभएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्रीले आर्थिक सुधारका सकारात्मक संकेत देखिन थालेको बताउनुभयो ।
उहाँले भनुभयो, “अहिले देखिएका आर्थिक सुधारका लक्षणहरु चालू सोह्रौं योजना अन्तर्गत सामाजिक न्याय, सुशासन र समृद्धिका आधारमा तय गरिएका लक्ष्यसँग मेल खान्छन् ।” प्रधानमन्त्रीका अनुसार नेपालले LDC बाट स्तरोन्नति भएपछि ‘सम्वृद नेपाल, सुखी नेपाली’ को अभियान सार्थक दिशातर्फ लम्किएको छ ।
सन् १९७१ मा संयुक्त राष्ट्रसंघले नेपाललाई LDC को सूचीमा राखेको थियो । पाँच दशकपछि, नेपाल अब त्यो सूचीबाट विकासशील राष्ट्रको सूचिमा जान तयार भएको प्रधानमन्त्रीको भनाइ छ । नेपालसँगै अन्य ७ मुलुक पनि स्तरोन्नतिका लागि तयार छन् ।
प्रधानमन्त्रीले भने, “हाम्रो अन्तर्राष्ट्रिय छवि उँचो हुँदै गएको छ । अब नेपाल आत्मनिर्भरतातर्फ अग्रसर भएको स्पष्ट देखिन्छ । लगानी मैत्री वातावरण तयार हुँदैछ र आर्थिक कूटनीतिमा थप सशक्तता आउनेछ ।”
नेपालले पछिल्लो दशकदेखि योजनागत रूपमा स्तरोन्नतिको तयारी गर्दै आएको थियो । १५औं र हालको १६औं योजना मार्फत नेपालले मानव सम्पत्ति सूचकांक, आर्थिक जोखिम न्यूनीकरण, र कुल राष्ट्रिय आम्दानीमा उल्लेख्य सुधार गरेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।
तर प्रधानमन्त्रीले सम्भावित चुनौतीको संकेत पनि गर्नुभयो । उहाँका अनुसार LDCको हैसियतमा नेपालले पाउँदै आएका सुविधा र सहुलियत (जस्तै WTO का छुट, विकास सहायता, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग) मा अब कटौती हुन सक्छ ।
त्यसैले नेपाल सरकारले सन् २०२3 देखि नै वैकल्पिक रणनीति कार्यान्वयनमा ल्याएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले ६ ओटा रणनीति तथा समितिहरू गठन भइसकेको जानकारी दिनुभयो, जसमा राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, संघीय तथा प्रदेशस्तरका संयन्त्रहरू सामेल छन् ।
प्रधानमन्त्रीले कानुनी सुधार, अन्तर्राष्ट्रिय सन्धि कार्यान्वयन, निजी क्षेत्रमा पर्ने प्रभाव, श्रम–रोजगारमा आवश्यक परिवर्तन लगायत क्षेत्रमा सरकार क्रियाशील रहेको स्पष्ट पार्नुभयो । नेपाललाई 'Land Locked' बाट 'Land Linked' राष्ट्र बनाउने रणनीति पनि अघि बढाइएको उहाँको भनाइ छ ।
उहाँले राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले तयार पारेको प्रतिवेदनको प्रशंसा गर्दै उठाइएका सुझावहरूलाई सरकार गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“हामी सबै पक्षको सहकार्यमा यो ऐतिहासिक रूपान्तरणलाई दिगो बनाउन लागि परिरहेका छौँ,” प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख थियो ।