Banner Nepal
बागमती कांग्रेस संसदीय दलमा लामाको पराजय, मुख्यमन्त्रीको पद संकटमा

काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेस संसदीय दलको नेताबाट पराजित भएका छन् । मंगलबार सम्पन्न मतविभाजनमा इन्द्रबहादुर बानियाँले स्पष्ट बहुमत प्राप्त गर्दै संसदीय दलको नेतृत्वमा स्थान सुनिश्चित गरेका हुन् ।

कुल ३७ जना कांग्रेस प्रदेश सांसदमध्ये बानियाँ पक्षमा २२ सांसद उभिए, जबकि मुख्यमन्त्री लामाले १५ मत मात्रै प्राप्त गरे । यो परिणामले दलभित्रै लामाको नेतृत्वप्रति असन्तुष्टि बढेको पुष्टि गरेको छ ।

मुख्यमन्त्री परिवर्तनका लागि केही समयदेखि प्रयास हुँदै आएको थियो । यसै क्रममा, गत साउन ९ गते कांग्रेसकै चार मन्त्रीले राजीनामा दिँदै लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । पछिल्लो सोमबार खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले समेत राजीनामा दिएका थिए ।

मुख्यमन्त्री लामाले चार मन्त्रीलाई पदमुक्त गर्दै नयाँ मन्त्री नियुक्त गरेर अविश्वासको प्रस्ताव सामना गर्ने रणनीति बनाएका थिए । तर संसदीय दलको नेतृत्वमा पराजयपछि उनको मुख्यमन्त्री पदमा टिकिरहने आधार कमजोर देखिन थालेको छ । अहिले उनलाई पदत्यागको लागि दबाब बढिरहेको छ ।

अविश्वास प्रस्ताव दर्ता गराउने अगुवाइ कांग्रेस प्रदेश सभापति तथा सांसद इन्द्रबहादुर बानियाँले गरेका हुन् । लामासमेत देउवा पक्षधर भए पनि दलभित्र बानियाँको पक्षमा बहुमत जुट्नु कांग्रेस आन्तरिक शक्ति सन्तुलनमा आएको परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update