
रसुवा — भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ। मन्त्री दाहालसहितको टोलीले नेपाल–चीन सीमा क्षेत्रसम्म पुगेर हालै बाढीले बगाएको मितेरी पुलको अवस्था समेत अवलोकन गरेको हो।
निरीक्षणका क्रममा मन्त्री दाहालले निर्माणाधीन सडकको काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिनुभयो। साथै, नदीजन्य जोखिम न्युनिकरणका उपायहरू तत्काल लागू गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।
चीनतर्फ रोकिएका नेपाली नागरिकको अवस्थाप्रति पनि मन्त्रीले चासो व्यक्त गर्नुभएको छ। यसबारेमा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनियाँ पक्षसँग समन्वय गरेर नेपाली नागरिकको सुरक्षित फिर्ती र समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।
सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार मितेरी पुलको पुनर्निर्माण कार्य चाँडै अगाडि बढाउने तयारीमा चिनियाँ पक्ष जुटिरहेको छ।
त्यस्तै, सशस्त्र प्रहरी (सुई)का शुभराज न्यौपानेले सडक अवरुद्ध हुन नदिन निरन्तर मर्मत तथा संरक्षणको काम जारी रहेको जानकारी दिनुभयो।