Banner Nepal
छानबिनमै रहेका ठाकुर नागरिक उड्डयनको नेतृत्वमा

काठमाण्डौ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका प्रेमनाथ ठाकुरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक बनाइएको छ ।

हाल वैदेशिक भ्रमणमा रहेका महानिर्देशक प्रदीप अधिकारीको अनुपस्थितिमा ठाकुरलाई जिम्मेवारी दिइएको हो । ठाकुरविरुद्ध २०७९ फागुनदेखि नै भ्रष्टाचार तथा पददुरुपयोग सम्बन्धी विषयमा अख्तियारले छानबिन गरिरहेको छ । थाइ स्माइल एयरलाइन्सको नेपाल प्रतिनिधिसँगको संवादमा घुस मागेको अडियो सार्वजनिक भएपछि उनी उपमहानिर्देशक पदबाट निलम्बनमा परेका थिए ।

त्यसबेला प्राधिकरणको सञ्चालक समितिको सिफारिसमा पर्यटन मन्त्रालयले निलम्बनको निर्णय लिएको थियो । यद्यपि, प्राधिकरणले गठन गरेको आन्तरिक उपसमितिले दोष प्रमाणित नदेखिएको भन्दै सिफारिस गरेलगत्तै ठाकुरको निलम्बन फुकुवा गरिएको हो । सोही सन्दर्भमा उनलाई फेरि नेतृत्व तहको जिम्मेवारी दिइएको छ । तर, अख्तियारमा भने ठाकुरको मुद्दा हाल पनि अनुसन्धानमै छ ।

यसरी छानबिन प्रक्रियाबाट निस्कन नपाएका व्यक्ति नेतृत्वमा आउनुले कार्यसम्पादन क्षमताभन्दा पनि पहुँच, आन्तरिक दबाब र राजनीतिक समीकरणलाई प्राथमिकता दिइएको संकेत दिएको विश्लेषकहरूको बुझाइ छ । पछिल्ला दिनमा सरकारी निकायमा पद बाँडफाँड गर्दा पेशागत योग्यता वा स्पष्ट छवि हेर्नुको सट्टा ‘पार्टी निकटता’ वा ‘पावर सर्कल’ मा आधारित निर्णय हुने गरेको भन्दै आलोचना हुने गरेको छ ।

ठाकुरको पनि सार्वजनिक छवि विवादरहित नभएको पृष्ठभूमिमा यस्तो नियुक्ति भएकोले नेपाल नागरिक उड्डयन प्राधिकरणको विश्वसनीयता, पारदर्शिता र स्वायत्ततामाथि प्रश्न उठ्न थालेको छ । यसरी विवादित पृष्ठभूमिका अधिकारीलाई नेतृत्वमा ल्याउनु संस्थागत जवाफदेहिता र लोक सेवाको मर्ममाथि प्रत्यक्ष प्रहार भएको विज्ञहरू बताउँछन्।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update