Banner Nepal

काठमाण्डौ  । गायिका पूजन काफ्लेले तीज पर्वको पूर्वसन्ध्यामा आफ्नो नयाँ सांगीतिक सिर्जना ‘छड्के तिलहरी’ सार्वजनिक गरेकी छन् । उक्त गीतमा शब्द, संगीत र स्वर स्वयं गायिकाकै रहेको छ भने संगीत संयोजन आदेश गुर्मछानले गरेका हुन् ।

शिक्षण पेशासमेत अंगालेकी काफ्लेले यो गीतमार्फत तीजको मौलिक स्वरूप उजागर गर्न प्रयास गरेकी छन् । गीतमा महिलाको सौन्दर्यसँग जोडिएको गहनाको महत्व र त्यो पाउँदाको हर्ष समेटिएको छ । साथै, तीजमा पारम्परिक शैलीमा रमाइरहने नाचगानको रीतलाई पनि सम्मानपूर्वक प्रस्तुत गरिएको छ ।

गीतको भिडियो निर्देशन र कोरियोग्राफी केशवराज भट्टले गरेका छन्, जसमा शीला गजुरेल, संस्कृति भुजेल र एलीजा काफ्लेले नृत्य प्रस्तुत गरेका छन् । गायिका काफ्ले यसअघि पनि तीज गीत बजारमा ल्याइसकेकी छन् । तर हालका तीज गीतहरूको बजार प्रवृत्तिप्रति उनले चिन्ता प्रकट गरेकी छन्—जहाँ तीजको मर्मभन्दा मनोरञ्जनात्मकता र छाडापन बढी देखिन्छ ।

अहिले तीज गीतका नाममा बजारमा आउने अधिकांश रचनाहरूले तीजको आध्यात्मिकता र सांस्कृतिक पक्ष ओझेलमा पारेर रत्यौली शैलीलाई मात्रै प्राथमिकता दिइरहेका छन् ।

गीतमा दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग बढेको, परम्परा विस्थापित गर्ने प्रवृत्ति मौलाएको भन्दै सञ्चारमाध्यमहरूको भूमिकाप्रति पनि प्रश्न उठाइएको छ । तीजको अवसरमा गीत ल्याउने प्रतिस्पर्धा चुलिँदो छ, तर शब्द र प्रस्तुतिमा संयमता हराउँदै गएको महसुस गरिएको छ । यस्ता परिस्थितिमा काफ्लेले ल्याएको ‘छड्के तिलहरी’ जस्तो गीतले केही हदसम्म मौलिक तीज परम्पराको संरक्षण गर्ने प्रयास गरेको छ ।

तीज महिलाहरूका लागि आत्माभिव्यक्ति र अनुभूति बाँड्ने पर्व हो—जहाँ वेदना, पीडा, अपेक्षा, तथा उपलब्धिहरू गीतमार्फत व्यक्त गरिन्छन् । त्यसैले तीज गीतमा समयअनुसार परिमार्जन हुनु स्वाभाविक भए पनि विकृति र अश्लीलताको बढ्दो प्रवृत्ति चिन्ताजनक बनेको सन्देश काफ्लेले अप्रत्यक्ष रूपमा यस गीतमार्फत दिन खोजेकी छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update