Banner Nepal
स्थानीय स्रोतको प्रयोगमा रोक, खोटाङका नगरप्रमुख सत्याग्रहमा

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउन र आयातमा निर्भरता घटाउन माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह थालेका छन्।

नगरप्रमुख भट्टराईले आइतबारदेखि सात बुँदे मागसहित शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन्। उनका अनुसार संघीय ऐनका कारण स्थानीय स्रोतसाधनको प्रयोगमा रोक लागिरहेको छ। यस विषयमा संघीय सरकारलाई पटक–पटक लिखित तथा मौखिक अनुरोध गर्दा पनि कुनै पहल नभएको गुनासो उनको छ।

भट्टराईका अनुसार गाउँघरमा खेर गइरहेका प्राकृतिक कच्चा पदार्थको प्रभावकारी उपयोग गर्न सकिने हो भने विदेशबाट आउने सामग्रीको आयात घट्न सक्नेछ। यसले वातावरणमैत्री संरचना निर्माण, स्थानीयस्तरमा रोजगारी सिर्जना तथा आत्मनिर्भरता बढाउन ठूलो भूमिका खेल्न सक्ने उनको भनाइ छ।

उनले बाँसको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै, वन्यजन्तुबाट स्थानीयवासी हैरान भएको स्थिति पनि औंल्याए। “अबको पाँच वर्षपछि चुनावमा उम्मेदवार हुँदाहुँदै पनि मतदान बाँदर, बँदेल र नीलगाईले गर्नुपर्ने दिन आउँछ,” भट्टराईले व्यङ्ग्य गर्दै भने।

साथै, प्लास्टिकजन्य वस्तुको व्यवस्थापन सो वस्तु उत्पादन गर्नेले नै गर्नुपर्ने र त्यसो नगरेमा प्रत्येक स्थानीय तहलाई १० प्रतिशत अतिरिक्त बजेट दिनुपर्ने माग पनि उनले उठाएका छन्।

संघीय सरकारले भूइँस्तरको आवाज नसुनेपछि बाध्य भएर राजधानीमै सत्याग्रह गर्नुपरेको उनले स्पष्ट पारेका छन्। सत्याग्रह जारी रहेको र माग सुनुवाइ नभएसम्म आन्दोलनलाई निरन्तरता दिने नगरप्रमुख भट्टराईले जनाएका छन्।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update