Banner Nepal
सिन्धुलीमा एकै परिवारका १६ जना हराए, प्रहरीको खोजी अभियान सुरु

काठमाडौँ  । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा बसोबास गर्दै आएको एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा हराएका छन्। घटना सार्वजनिक भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ।

भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवार चार दिनदेखि सम्पर्कविहीन बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन्।

बेपत्ता हुनेहरूमा उर्मिला हायुसहित उनका ६ छोरा — राजु, हिमाल, लालबहादुर, डेगबहादुर, सुवर्ण र लक्ष्मण हायु — र ६ छोरी — कमला, सुधा, सुजता, उषा, अस्मिता र कोमला हायु — रहेका छन्। साथै एक बुहारी, एक नातिनी र एक जना ज्वाइँ पनि परिवारसँगै बेपत्ता भएका छन्। ती तीन जनाको नाम भने खुलेको छैन।

परिवारको बसोबास रहेको घरको पालीमा रहेको भान्साघरमा हालै आगलागी भएको देखिएको भए पनि घरको बाँकी भाग भने सुरक्षित अवस्थामा रहेको प्रहरीले जनाएको छ। घर वरपर कुनै भग्नावशेष वा हिंसात्मक संकेत भेटिएको छैन।

घरमा रहेका पशुचौपाया समेत सुरक्षित भेटिएका छन् भने स्थानीय क्षेत्रमा व्यापक तलासी गर्दा पनि परिवारका सदस्यहरू कतै फेला नपरेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर खोजतलासी कार्य तीव्र बनाएको छ भने बेपत्ता हुने कारणबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको जनाइएको छ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update